‘ओली कुटी’प्रति शिक्षामन्त्री पुनले गरे यस्तो व्यंग्य

 संवाददाता    २०८२, २२ मंसिर आईतवार १०:३८     128 जनाले पढ़िसके



Spread the love

भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको लागि निर्माण सुरु भएको निवासको डिजाइनप्रति शिक्षामन्त्री महावीर पुनले व्यंग्य गरेका छन्।

गुण्डुमा एमाले अध्यक्ष ओलीको लागि यही मंसिर १८ गतेदेखि ‘ओली कुटी’ निर्माण सुरु भएको छ। ‘ओली कुटी’को प्रस्तावित डिजाइनप्रति शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमा तिखो व्यंग्य गरेका हुन्।

‘यो नक्सा डिजाईन गर्ने इञ्जीनियरलाई सख्त कार्वाही गर्नु पर्छ। अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ,’ ‘ओली कुटी’को प्रस्तावित डिजाइन भवनको तस्बिर शेयर गर्दै आइतबार बिहान शिक्षमन्त्री पुनले लेखेका छन्, ‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाई दिनु हुन्छ त उसले। कहाँ सम्मको लापरवाही हो यो?’

पुनले आफ्नो यो अभिव्यक्तिलाई एक छिनको रमाइलो भन्दै टुंग्याएका छन्।

तर, आफूलाई कम्युनिस्ट दाबी गर्ने नेपालका नेताहरुको भड्किलो जीवनशैलीप्रति नागरिक स्तरबाट चर्को आलोचना हुँदै आएको छ। ‘ओली कुटी’को रुपमा निर्माण थालिएको भव्य डिजाइनको यो भवनले पनि नेताहरुको आलोचनामा थप बल पुगेको छ।

गएको भदौ १३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा आगजनी भएपछि गुण्डुमा उनको लागि नयाँ निवासको निर्माण सुरु भएको हो। ओली पत्नी राधिका शाक्यले मंसिर १८ गते भवनको शिलान्यास गरेकी थिइन्।