प्रतिनिधि सभा निर्वाचनका लागि झन्डै ६ अर्ब छुट्याइयो

 संवाददाता    २०८२, २१ मंसिर शनिबार ०९:१४     92 जनाले पढ़िसके



Spread the love

निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्।

 

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोहीअनुसार काम भइरहेको बताए।

 

 

उनले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको राजनीतिक दल, सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा निर्वाचनका लागि आयोग तत्पर रहेको कुरा जानकारी गराइएको बताए।

 

‘हामीलाई बजेट अपर्याप्त थियो। अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ’, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले शुक्रबार रासससँग भनेका छन्, ‘अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ। यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ।’

 

 

निर्वाचनका लागि आयोगले रु ७ अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु ५ अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ।

 

आयोगले शुक्रबार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।

 

यसअघि निर्वाचनमा भाग लिन इच्छुक १२० राजनीतिक दलले आयोगमा दल दर्ता गराइसकेका छन्।