लमजुङमा गत चैतमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले आज (शुक्रबार) दिएको जानकारीअनुसार उक्त घटनामा पक्राउ पुर्जी जारी गरिएका चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो।
ब्युरोको टोलीले दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिएको हो। थप अनुसन्धानका लागि उनलाई लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले जनाएको छ।
प्रहरीका अनुसार पूर्वप्रहरी हवलदार ४५ वर्षीया कँडेल २०८१ चैत ३१ गते दिउँसो ३:३० बजेतिर लमजुङको बेँसीसहर नगरपालिका-२, भकुण्डेस्थित घरभित्र मृत भेटिएकी थिइन्।
ताल्चा लागेको घरबाट दुर्गन्ध फैलिएपछि स्थानीयले सूचना गरेपछि प्रहरीले खानतलास गर्दा सुत्ने कोठामा रहेको बक्स पलङको ओछ्यानमुनि त्रिपालले बेरिएको अवस्थामा पूर्वहवलदार सीताको शव भेटिएको थियो।
सो बीभत्स हत्या अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोरोबाट समेत विशेष अनुसन्धान टोली खटिएको थियो।