एमालेले अध्यक्ष केपी ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ आवास निर्माण औपचारिक रूपमा सुरु गरेको छ । १५ आना तीन पैसा जग्गामा बन्न थालेको निवासलाई एमाले वृत्तमा ‘ओली कुटी’ भनेर प्रचार गरिएको छ ।
ओलीको अढाईतले निवास भक्तपुरको परम्परागत नेवारी सांस्कृतिक पहिचान र ग्रामीण परिवेश झल्किने गरी निर्माणको डिजाइन गरिएको छ । भवनको भुइँतलामा बैठक कक्ष, प्रतीक्षालय, पुस्तकालय, लिभिङ रुम र डाइनिङ कक्ष रहनेछन् ।
दोस्रो तलामा परिवारका लागि बेडरुम तथा विशिष्ट व्यक्तिहरूसँग भेटघाट कक्ष रहनेछ । तेस्रो तला पाहुनाका लागि कोठा, ओलीका लागि अध्ययन कक्ष तथा ‘ग्रिन रुम’का रूपमा उपयोग हुने गरी डिजाइन गरिएको छ । कौसीमा कौसीखेती गर्ने सुविधा समेटिएको छ ।
प्रारम्भिक डिजाइनअनुसार करिब एक करोड रुपैयाँ लागतमा घर निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । ‘ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । आज (बिहीबार) राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो । अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ !’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
ओलीपत्नी राधिका शाक्यले बिहीबार शिलान्यास गरेको यस ‘कुटी महल’ शैलीको घर एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । नेवारी परम्परा र ग्रामीण जीवनशैलीबाट प्रेरित गोलो आकारको अढाईतले आवास स्थानीयकै सहयोगमा बन्ने एमालेको दाबी छ ।
पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतका अनुसार गुन्डुका एक स्थानीय बासिन्दाबाट १५ आना तीन पैसा जग्गा खरिद गरी निर्माण प्रक्रिया थालिएको हो । तर, जग्गा बेच्ने व्यक्तिको नाम गोप्य राखिएको छ ।