विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएका कांग्रेस युवा नेताहरूले नियमित महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार आयोजित कार्यक्रममा गुरुराज घिमिरेलगायत नेताले अब वडा अधिवेशनमा केन्द्रित हुन हस्ताक्षरकर्ता तथा सहयोगी नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । २६ देखि २८ पुससम्म हुने नियमित महाधिवेशन अलमल भएमा विशेष महाधिवेशन प्रक्रिया स्वत: सुरु गर्नेसमेत उनीहरूले चेतावनी दिएका छन् ।
कार्यक्रममा नेताहरू मधु आचार्य, अमृत अर्याल, जगदीश्वरनरसिंह केसी, लुम्बिनी कांग्रेस सभापति अमरबहादुर पुनलगायत सहभागी थिए । ‘जे–जस्तो भए पनि हाम्रो दबाबका कारण पार्टीले नियमित महाधिवेशनको कार्यतालिका ल्याएको छ । अब पनि हामीले निरन्तर खबरदारी गरिरहनुपर्छ । अभियानका नेताहरू अब वडामा जानुपर्छ,’ घिमिरेले भने ।
उनीहरूले वडा अधिवेशनमा केन्द्रित भएर महाधिवेशनमा सहभागी हुनुपर्नेमा जोड दिएको छलफलमा सहभागी कांग्रेस युवा नेता बलदेव तिमल्सिनाले जानकारी दिए । सहभागीहरूले सुरुमा पार्टी नेतृत्वले २८ असोजको केन्द्रीय समिति बैठकपछि समय गुजारेको, तर पछि समयको दबाब हुने गरी कार्यतालिका ल्याएको भन्दै आलोचना पनि गरेका थिए । ‘समयको चाप छ, तर महाधिवेशन हुनुको विकल्प छैन । सफल पार्नुपर्छ भन्नेमा सबैको जोड थियो,’ तिमल्सिनाले भने ।