बैंक सर्वेक्षणका नाममा बैंक खाताबाट पैसा चोरी गर्ने समूह सक्रिय देखिएको छ । सर्वेक्षण गर्ने भन्दै ११ जनाको बैंक खाताबाट ३८ लाख ५९ हजार चोरी गरेको अभियोगमा प्रहरीले नौजनाविरुद्ध मुद्दा चलाएको छ ।
सिन्धुपाल्चोकका राजन गिरी, ओखलढुंगाका मिनाल कान्द्री, भारतीय नागरिक आदित्य कुमार, सिन्धुलीका कुमार थापा, नेत्रबहादुर थापा र जयबहादुर चौहान तथा भोजपुरका कुमार सार्की र मोरङका दिलीपकुमार राजवंशीविरुद्ध प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत, काठमाडौंमा आइतबार विद्युतीय ठगी मुद्दा दायर गरेको हो । बैंकको सर्वेक्षणमा भाग लिँदा १० हजार रुपैयाँ बोनस आउने भन्दै बैंक खाता ह्याक गरेर उनीहरूले पैसा चोरी गरेको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।
ठगिनेमध्ये एक लक्ष्मीप्रसाद ढकाल हुन् । उनले फेसबुकमा एभरेस्ट बैंकको सर्वेक्षणमा भाग लिएर १० हजार रुपैयाँ जित्नुहोस् भन्ने पोस्ट देखे । एभरेस्ट बैंककै पोस्ट ठानेर उनले त्यहाँ दिइएको लिंकमा क्लिक गरे । सर्वेक्षण फारममा मोबाइलमा आउने एउटा ओटिपी हाल्न भनियो । त्यसको केही समयमै उनको खाताबाट जयबहादुर चौहानको एनएमबीको खातामा पाँच लाख रुपैयाँ ट्रान्सफर भयो । सर्वेक्षणका नाममा मोबाइल बैंकिङको ओटिपी प्राप्त गरी ठगी गर्ने समूहले त्यसरी उनको खाताबाट पैसा चोरी गरेको थियो ।
सोही शैलीमा रामचन्द्र ढकालको खाताबाट पाँच लाख, शैलेशकुमार श्रेष्ठको खाताबाट पाँच लाख, अजय शाहीको खाताबाट ४५ हजार, श्यामसुन्दर अर्यालको खाताबाट पाँच लाख, सुरेशकुमार यादवको खाताबाट ६ लाख ८९ हजार चोरी भएको थियो । त्यस्तै, प्रदीपराज भण्डारी र बाबुशरण महर्जनको खाताबाट तीन–तीन लाख र सुशीलकुमार खनालको खाताबाट एक लाख २५ हजार अरूको खातामा ट्रान्सफर भएको प्रहरीले जनाएको छ । आफ्नो खाता रहेकै बैंकको सर्वेक्षण भएको र बैंकबाटै ओटिपी आएको ठानेर भुक्किने भएकाले बैंकको सर्वेक्षणका नाममा ठगी भएको हो ।
पक्राउ परेका अभियुक्तले एक चिनियाँ नागरिकले आफूहरूलाई यो काममा लगाएको बताएका छन् । भारतीय नागरिक आदित्यकुमार गिरोहका नाइकेमध्ये हुन् । वाल्डो क्यासिनोमा भेटिएका चिनियाँ नागरिकले सो काममा लगाएको बयान उनले दिएका छन् । तर, ती चिनियाँको प्रहरीले पहिचान गर्न सकेको छैन ।