कलाकार रिमा विश्वकर्माले कुलमान घिसिङको नेतृत्वमा देशको भविष्य उज्यालो बनाउने महाअभियानमा जोडिन आग्रह गरेकी छिन्।
बुधबार प्रज्ञा प्रतिष्ठानमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा विश्वकर्माले देश विकासको अभियानमा जोडिन ढिलो नगर्न आग्रह गरिन्।
सरकारमा रहेकाहरू कसैले पनि विगतमा आमनागरिकको दैनिकी सुधार्ने कुनै काम नगरेको उल्लेख गर्दै उनले भनिन्, ‘कसैको नेतृत्वले मेरो दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको थियो भने त्यो लोडसेडिङ हटाउने निर्णय थियो। मैले त्यसै दिन कुलमान घिसिङलाई आफ्नो अगुवा मानेकी थिएँ।’
१८ घण्टे लोडसेडिङ हटाएर कुलमानले नागरिकको घरदैलोमा उज्यालो ल्याइसकेको उल्लेख गर्दै विश्वकर्माले अब घिसिङकै नेतृत्वमा देशको भविष्य उज्यालो बन्ने विश्वास व्यक्त गरिन्। ‘अब उहाँकै नेतृत्वमा उज्यालो नेपाल पार्टीमार्फत हामी देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेका छौँ,’ उनले भनिन्।
२०–३० वर्षदेखि राजनीति गरेका र भ्रष्टहरू अझै देश बनाउँछु भनिरहेका भन्दै विश्वकर्माले अझै उनीहरूको कुरा पत्याउनेहरूले आफूलाई मानिस नभने हुने प्रस्ट पारिन्।