नबिल बैंक लिमिटेडले देशभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ ।
‘बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगन्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौं उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ,’ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले बताए ।
बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महाराजगन्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, बिजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ ।
साथै, उपत्यकाबाहिर इटहरी, वीरगन्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगन्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुने बताइएको छ ।
बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसिइओ बजगाईंले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रूपमा भुक्तानी गर्न सक्नेछन् ।
जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बिमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नुपर्दैन ।