राष्ट्रिय स्वाधीनताको रक्षाका लागि जनताको फोर्स आवश्यक: प्रचण्ड

 संवाददाता    २०८२, १६ मंसिर सोमबार २०:४२     104 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र जनताको आत्मसम्मान जोगाउन अहिले जनताको फोर्स निर्माण आवश्यक रहेको बताएका छन्।

 

सोमबार विराटनगरमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले जेन्जी आन्दोलनले दिएको मुख्य सन्देश राजनीतिक दलहरूलाई सुधार र आत्मसमीक्षा गर्ने चेतावनी भएको बताए।

 

 

उनका अनुसार, देश अहिले पनि पूर्ण रूपमा संकटमुक्त भइसकेको छैन। भदौ २३ र २४ गतेको घटनाक्रमले नेपाल राज्यविहीन जस्तै अवस्थामा पुगेको अनुभूति गराएको उल्लेख गर्दै उनले त्यतिबेला सेनाले चाहेर पनि ऐतिहासिक धरोहर जोगाउन नसकेको टिप्पणी गरे।

 

‘दुई दिनसम्म नेपाल रहने हो कि होइन भन्ने परिस्थितिसम्म पुग्यो,’ दाहालले भने।

 

 

यस्तो अवस्थाबाट सिकेर अब राष्ट्रिय स्वाधीनता रक्षा गर्न सेना, सुरक्षा निकाय र जनताबीच सहकार्यमा आधारित एकीकृत राष्ट्रिय फोर्स बनाउनु आवश्यक भएको उनको धारणा छ।

 

दाहालले ३ करोड नेपालीकै सहभागितामा एक शक्तिशाली जनफोर्स बनाउन सकिने उल्लेख गर्दै भने, ‘३ करोड नेपाली नै राष्ट्रका लागि उभिन तैयार भए दुनियाको कुनै शक्ति रोक्न सक्दैन।’

 

संकटका घडीमा जनताको चेतना, तत्परता र ऐक्यबद्धता निर्णायक हुने बताए। भदौ २३–२४ मा फैलिएको पूर्वराजा फर्कने, सेनाले शासन लिने जस्ता हल्लाले देशभर भय फैलिएको भन्दै उनले त्यसबेला राष्ट्रपति कार्यालयले २६ गते राति बोलाएपछि मात्र राजनीतिक स्थिरताबारे छलफल अगाडि बढेको स्मरण गरे।

 

उनका अनुसार, सो राति भएको सहमतिअनुसार अन्तरिम सरकार गठन गरी फागुन २१ गते चुनावमा जाने वातावरण बनेको हो। उनले तोकिएकै समयमा जसरी पनि निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिँदै वर्तमान राजनीतिक नेतृत्व त्यसैका लागि तयार रहेको बताए।