एमालेको महाधिवेशनका लागि पार्किङ खर्च दैनिक २५ हजार रूपैयाँ

 संवाददाता    २०८२, १६ मंसिर सोमबार १५:४८     121 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा प्रत्येक दिन एक हजार गाडी पार्किङ गर्न ठाउँ बुकिङ गरिएको छ।

महाधिवेशन आयोजक समिति अन्तर्गतको सवारी व्यवस्थापन उपसमितिले पार्किङका लागि तयारी ठाउँ निश्चित गरेको हो। उपसमिति सचिव रचना खड्काका अनुसार भृकुटीमण्डप क्षेत्रभित्र खुला ठाउँमा व्यवस्थित रूपमा पार्किंङ गर्न त्यहाँको नियमअनुसार तिर्नुपर्ने पैसा तिरेरै पार्किङ स्थल बुक गरिएको हो।

मंसिर २७ देखि २९ सम्म चल्ने महाधिवेशनमा करिब २ हजार ३ सय प्रतिनिधि, पदाधिकारी तथा सयौँ पार्टी कार्यकर्ताहरू सहभागी हुनेछन्। भृकुटीमण्डपमा मंसिर २६ गतेदेखिकै लागि स्थान बुक गरिएको छ।

खड्काले भनिन्, ‘उदघाटन सत्रका लागि भक्तपुरमा छुट्टै तयारी छ। भृकुटीमण्डपभित्र र होटलमा बस्ने प्रतिनिधिका लागि पनि यातायात र पार्किङका अलग–अलग तयारी गरेका छौँ।’

महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ भने बन्दसत्र लगायतका सबै कार्यक्रम भृकुटीमण्डपमा हुनेछन्। उदघाटनको दिन काठमाडौंतिरबाट जाने सवारी साधनले सल्लाघारी वरै पार्किङ गर्नुपर्नेछ। बनेपातिरबाट आउनेले जगातीभन्दा उतै पार्किङ गर्नुपर्नेछ।

भृकुटीमण्डपको व्यवस्था हेर्ने समाज कल्याण परिषद कार्यालयका अनुसार एमालेले फरक–फरक दुई ठाउँको पार्किङस्थल बुक गरेको हो। पहिलो प्लान अन्तर्गत ४ सय गाडी पार्किङ हुन्छन्। दोस्रो प्लानअनुसार ६ सय गाडी पार्किङ हुनेछन्। यी दुवै ठाउँका लागि पार्किङ शुल्क दैनिक २५ हजार रुपैयाँ तिर्नुपर्छ। यो रकम आयोजक समितिले भुक्तानी गर्नेछ। सहभागी हुन आउनेहरुले निःशुल्क पार्किङ पाउनेछन्।