‘परान’ बन्यो धेरै कमाउने छैटौँ फिल्म

 संवाददाता    २०८२, १६ मंसिर सोमबार १३:५२     141 जनाले पढ़िसके



Spread the love

दीपकप्रसाद आचार्य (काकु) डेब्यु निर्देशित फिल्म ‘परान’ ले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। प्रदर्शनको ३० औं दिन अर्थात शनिबारसम्म यस फिल्मले १६ करोड १६ लाख ७७ हजार कमाएको छ।

‘छक्का पञ्जा’ को लाइफटाइम कलेक्सनलाई उछिन्दै ‘परान’ सर्वकालिन धेरै कमाउने सूचीको छैटौँ स्थान बनाउन सफल भएको छ।

यसअघि छैटौँ स्थानमा रहेको ‘छक्का पञ्जा’ को व्यापार १६ करोड १० लाख रहेको छ। यहीँ रफ्तार रहेको खण्डमा चाडै यस फिल्मले ‘जारी’ को रेकर्ड तोड्नेसमेत देखिन्छ। किनकी पाँचौं स्थानमा रहेको ‘जारी’ को कूल कमाइ १७ करोड ४८ लाख देखिन्छ।

नीर शाहको मुख्य भूमिका रहेको यस फिल्मको सुरुमा फिल्मको व्यापार न्यून थियो। प्रदर्शनको पहिलो दिन फिल्मले ६ लाखको ‌ओपनिङ गरेको थियो। तर, तीन-चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थाल्यो।

शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय छ।