६ लाखसहित पक्राउ परेकी लेखा अधिकृतविरुद्ध सर्वाेच्च पुग्यो अख्तियार

 संवाददाता    २०८२, १६ मंसिर सोमबार १२:५८     212 जनाले पढ़िसके



Spread the love

६ लाख घुससहित पक्राउ परेकी लेखा अधिकृतलाई विशेष अदालतले थोरै सजाय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरकी लेखा अधिकृत अमृता कोइरालाविरुद्ध अख्तियारले आइतबार सर्वाेच्चमा पुनरावेदन गरेको हो।

 

 

उनलाई अख्तियारले ६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । थप एक लाख चार हजार पनि सापटीका रूपमा औषधि सप्लायर्ससँग लिएको खुलेको थियो। सो मागदाबीमा विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वाेच्च गएको छ । उनलाई विशेषले ६ लाखको बिगोमा भने ६ लाख जरिवाना र डेढ वर्ष कैद सजाय सुनाएको छ।

 

 

त्यस्तै, अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका बागमती नगर जग्गा एकीकरण आयोजनाका अधिकृत यामकुमार कार्कीविरुद्ध पनि पुनरावेदन गरेको छ। उनको तीन करोड २१ लाख ३२ हजार सम्पत्ति अकुत रहेको दाबीसहित अख्तियारले मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वाेच्च पुगेको हो ।