नेपाली कम्युनिस्ट पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभा आइतबार पोखरामा सम्पन्न भएको छ । एक दर्जनभन्दा बढी दल–समूहको एकतापछि गठन भएको नेकपाले पोखराको चिप्लेढुंगामा सभा गरेको हो । पार्टी एकता, राष्ट्रिय मुद्दालगायत विषयमा जानकारी दिने उद्देश्यसहित आयोजना गरिएको सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत नेताहरूले सम्बोधन गरेका थिए । सभामा सहभागी हुन प्रदेशका ११ जिल्लासँगै छिमेकी जिल्लाबाट मानिस आएका थिए ।
नेकपा संयोजक प्रचण्डले दुईतिहाइको दम्भले देश बर्बाद भएको आरोप लगाए । कांग्रेस र एमालेकै कारण देश संकटतर्फ गएको उनको आरोप थियो । ‘बंगलादेशमा शेख हसिनाको दुईतिहाइ थियो, अन्तिममा हसिना पनि देश छाडेर भाग्नुपर्यो । नेपालमा समेत कांग्रेस–एमालेको दुईतिहाइ थियो, उनीहरू पनि हेलिकोप्टर चढेर भाग्नुपर्यो । त्यसैले दुईतिहाइको दम्भ देखाएर मात्रै केही हुँदैन,’ उनले भने । उनले लोकप्रियतावादीहरूको भ्रममा नपर्न पनि आग्रह गरे ।
२१ फागुनका लागि तय भएको निर्वाचन हुन्छ–हुँदैन भनेर द्विविधामा नबस्न आग्रह गर्दै उनले सरकार निर्वाचन गराउन लागेकाले सो मितिमा निर्वाचन हुन्छ र हुनैपर्ने बताए । एमालेभित्रबाट समेत धेरैजना नेकपामा आउन चाहेको दाबी गर्दै उनले ओलीको दम्भले देश बर्बाद हुँदै गएको आरोप लगाए । हालको अवस्थामा नेकपाको एमालेसँग एकता हुने कुनै सम्भावना नरहेको उनले बताए । पार्टीका सहसंयोजक नेपालले जेन–जीको आकर्षणको केन्द्र नेकपा बनेको दाबी गरे । एसिडपीडित मुस्कान खातुनलगायत जेन–जीहरू एकपछि अर्को गर्दै नेकपा प्रवेश गर्ने लहर चलिरहेको उनले बताए ।