१४ हजार महिला र १९ हजार २७९ पुरुषमा एचआइभी संक्रमण

 संवाददाता    २०८२, १६ मंसिर सोमबार ११:००     354 जनाले पढ़िसके



Spread the love

भारतीय सीमानाकामा एचआइभी परीक्षण नहुँदा र असुरक्षित यौनसम्पर्ककै कारण नेपालमा नयाँ संक्रमित थपिँदै गएका छन् । विश्व एड्स दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नयाँ संक्रमित थपिने क्रम जारी रहेको बताए । विगतको तथ्यांक हेर्दा घटेको देखिए पनि नयाँ संक्रमित थपिने क्रम जारी रहेको उनको भनाइ छ ।

 

 

‘विगतको तथ्यांक हेर्दा घटेको मान्न सकिन्छ, तर नयाँ संक्रमित पनि थपिँदै छन् । सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ एचआइभी संक्रमित थिए, यो संख्या बढेको हुन सक्छ । सन् २०२५ को तथ्यांक केही समयपछि आउँदै छ । नयाँ संक्रमितमध्ये ०.१३ प्रतिशत वयस्क उमेर समूहका छन्,’ उनले भने । राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकअनुसार सन् २०१९ मा दुई हजार २९८, २०२० मा दुई हजार ४१६, २०२१ मा दुई हजार ५७९, २०२२ मा तीन हजार १८०, ०२३ मा तीन हजार ४६ र २०२४ मा दुई हजार ५५७ संक्रमित थपिएका छन् ।

 

 

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार कुल संक्रमित ३४ हजार ३३७ मध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २७९ जना छन् । जसमा १४ हजार महिला र १९ हजार २७९ पुरुष छन् । निर्देशक शर्माले नेपालमा एक हजार ५८ एचआइभी संक्रमित बालबालिकासमेत रहेको बताए । पछिल्लो एक वर्षमा केही आमाहरूमा एचआइभी परीक्षण गर्दा २२७ बालबालिका संक्रमित देखिएका छन् । एचआइभीबाट दैनिक एकजनाको मृत्यु हुने गरेको उनले बताए ।

 

विदेशी दातृनिकायको सहायता रकम रोकिएकाले पछिल्लो समय नेपालमा एचआइची परीक्षण दर घटेको केन्द्रले जनाएको छ ।केन्द्रको तथ्यांकअनुसार एचआइभीबाट मृत्यु हुनेको संख्या पछिल्ला वर्षहरूमा घट्दो छ । गत वर्ष सन् २०२४ मा ५६९ जना एड्सका कारण मृत्यु भएको थियो । १५ वर्षअघि अर्थात् सन् २०१० मा एड्सका कारण दुई हजार चार सय व्यक्तिको ज्यान गएको थियो । सो तथ्यांकको तुलनामा अहिले संक्रमित हुने र मृत्यु हुनेको संख्या निकै कम देखिएको हो ।

 

हाल संक्रमितमध्ये २६ हजार ३७२ ले एन्टिरेट्रो भाइरल उपचार गराइरहेका छन् । सरकारले सन् २०३० सम्ममा नेपालमा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । तर, बजेट पर्याप्त नहुँदा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, एचआइभी, हेपाटाइटिस तथा यौनरोग क्षेत्रमा काम गर्न कठिन भएको निर्देशक शर्माको भनाइ छ ।

 

उनका अनुसार हाल नेपालमा १११ कैदीबन्दीसमेत एचआइभी संक्रमित छन् । यसअघि राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा एचआइभीका नयाँ संक्रमित रोकथामका लागि स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको थियो । आयोगले अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनले भारतीय सीमानाकामा परीक्षण गर्न आवश्यक रहेको औँल्याउँदै सरकारलाई सुझाव दिए पनि कार्यान्वयन हुन सकेको छैन ।