एमालेका केही नेतासँग पनि एकताको छलफल भइरहेको छ : प्रचण्ड

 संवाददाता    २०८२, १५ मंसिर आईतवार ११:४७     121 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेको केही पंक्तिसँग पनि एकताका लागि छलफल भइरहेको बताएका छन् । दाङको लमहीमा लुम्बिनी प्रदेशस्तरीय एकता घोषणासभामा शनिबार उनले एमालेभित्रका क्रान्तिकारी देशभक्त पंक्तिसँग छलफल भइरहेको बताए ।

‘एमालेभित्र पनि धेरै क्रान्तिकारी र देशभक्त पंक्ति छ,’ उनले भने, ‘त्यहाँको नेतृत्व ठिक हुने हो भने उहाँहरूलाई पनि एकतामा ल्याउन सकिन्छ, त्यहाँको पंक्तिलाई ल्याएर केही समयपछि बृहत् एकता पनि गर्न सकिन्छ ।’

कम्युनिस्ट एकता मात्रै नभई राष्ट्रियता, संविधान, जनताको आकांक्षा पूरा गर्न कांग्रेससँग पनि मोर्चा बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाइ छ । साथै, उनले जनार्दन शर्मा पनि केही समयमा एकतामै आउनुपर्ने बताए । प्रचण्डले सातवटै प्रदेशमा भइरहेको एकता सभा आत्मालोचित हुने सभा पनि भएको बताए । उनले विगतमा गरेका कमजोरीलाई सच्चाउँदै राष्ट्रियता, स्वाधीनता, जनताको स्वतन्त्रताको पक्षमा अझ दृढ भएर लाग्ने प्रतिबद्धतासहितको सभा भएको बताए । ‘विकास निर्माणमा कहाँ चुक्यौँ, जनताका हरेक समस्या समाधान गर्न हामी कहाँ चुक्यौँ ? यस्ता कुराहरूको कमजोरी खोतल्ने, सच्चाउने र आत्मालोचना गर्ने सभा पनि हो यो,’ उनले भने ।

अहिले मुलुकका १५ वटा कम्युनिस्ट पार्टीहरूबिच एकता गरेर विगतका कमजोरीलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भएर लाग्ने संकल्प सभाका रूपमा यो सभालाई लिएको उनको भनाइ थियो ।

प्रचण्डले विगतका कमजोरी दोहोरिन नदिने तथा उत्पीडित समुदायसँग सम्बन्धलाई दाह्रो बनाएर उनीहरूको हक–अधिकारका लागि अर्को लडाइँ लड्ने एकता पनि रहेको बताए ।