नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई व्यंग्य गर्दै सत्तामा पुगेर पनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताएका छन्।
ओली भदौ २४ गते प्रधानमन्त्री रहेकै अवस्थामा जेनजी आन्दोलनको क्रममा बालुवाटारबाट हेलिकप्टर चढेर बाहिरिएका थिए।
शनिबार दाङमा लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले चुनाव जितेर सत्तामा पुगे पनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताएका हुन्।
‘चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ र हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ। ठूलो कुरा जनताबीचको एकता आवश्यक रहेछ। मैले संसदको रोष्ट्रमबाटै भनेको थिएँ। बहुमतको धेरै दम्भ नदेखाउनुहोस् यस्तै अवस्था रहे कुनै दिन जनताले लेखेट्ने छन् भनेर,’ उनले भने, ‘आज उहाँले यो सबै प्रचण्डले गरायो भन्दै हिँडेको सुन्छौं। तर उहाँको अझै पनि अहंकार त्यागेको देखिँदैन।’
उनले लामो छलफल र संकल्पबाट १५ वटा पार्टीबीच एकता भएको बताए। त्यसलाई जनताले उत्साहसाथ अनुमोदन गरेको बताए। उनले फेरि पनि देश बनाउन वर्षौं संघर्ष र त्याग गरेका दलहरूबाट मात्रै सम्भव हुने बताए। सबैभन्दा बढी देशभक्त कम्युनिष्टहरू नै हुने दाबी गर्दै उनले २००६ सालदेखि जनआन्दोलनसम्म हजारौं सहिदको बलिदानी र त्यागबाट आजको परिवर्तन सम्भव भएको बताए।
‘म माओवादीमा सर्वोच्च कमाण्डर हुँदा माधवजी एमालेको महासचिव हुनुहुन्थ्यो। पहिलोपटक माधव कमरेडले नै बामदेब गौतम र युवराज ज्ञवालीलाई रोल्पा पठाएर वार्ता गर्नुभएको थियो। त्यसमा बामदेब कमरेड र मैले हस्ताक्षर गरेका थियौं’ उनले भने।
त्यस्तै उनले माधव नेपाल लगायतका नेताहरूसंगको सहकार्यका कारण पंचायत ढलाउन र पछिल्लो समय संघीय गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको चर्चा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि एमाले अध्यक्ष ओली लक्षित अभिब्यक्ति दिएका थिए। ‘मैले त कति मान्छेहरूलाई तपाईंहरूले सक्नुहुन्छ भनेर सुधार्नुस् भनेको थिएँ,’ नेपालले भने, ‘तर, सम्भव भएन। नानीदेखि लागेको बानी सुध्रिँदो रहेनछ। अहिले पनि मति सुध्रिन्छ भनेर रहेनछ।’