नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामा र पहिलो महिला क्याप्टेन सोनी राणालाई जहाज उडानमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुवै पाइलटले जहाजभित्र नियमविपरीत फोटो र भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको पाएपछि अर्को सूचना जारी नभएसम्मका लागि उडानमा प्रतिबन्ध लगाउन निर्देशन दिइएको हो ।
प्राधिकरणले शुक्रबार वायुसेवा निगमको सञ्चालन विभागलाई लेखेको पत्रमा दुवै पाइलटलाई अर्को सूचना जारी नभएसम्म सक्रिय उडान कर्तव्यबाट रोस्टर बन्द गर्नुपर्ने उल्लेख छ । ‘उडानमा फोटोग्राफी–भिडियोग्राफीसम्बन्धी उडान सञ्चालन आवश्यकताको उल्लंघनको सन्दर्भमा, तपाईंले सम्बन्धित चालक दलका क्याप्टेन विजय लामा एटिपिएल नम्बर १४४ र क्याप्टेन सोनी राणा एटिपिएल नम्बर १५२ लाई अर्को सूचना नभएसम्म सक्रिय उडान कर्तव्यबाट रोस्टर बन्द गर्न आवश्यक छ,’ प्राधिकरणले लेखेको पत्रमा भनिएको छ ।
प्राधिकरणले जहाजभित्र फोटो वा भिडियो नखिच्न पटक–पटक यात्रु तथा चालक दलका सदस्यलाई आग्रह गर्दै आएको छ । तर, क्याप्टेन लामाले भने वेलावेला ककपिटको समेत फोटो र भिडियो तयार गरी सामाजिक सञ्जालमा सेयर गर्ने गरेका छन् । यसअघि पनि उनलाई यही आरोपमा कारबाही गरिएको थियो। विमानको सुरक्षाको दृष्टिकोणले फोटो र भिडियो खिच्न नपाइने नियम छ।