कार्यकर्तालाई नेपालको निर्देशनः प्रचण्ड र म प्रधानमन्त्री हुँदा गरेका राम्रा कामको प्रचार गर्नुस्

 संवाददाता    २०८२, १३ मंसिर शुक्रबार १७:३१     133 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले भदौं २३ र २४ को आन्दोलनपछि अरु दलका नेताहरू लुकेको तर आफूहरूले निकास निकालेको बताएका छन्।

 

अरु दलका नेता लुकेको अवस्थामा आफू र पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग लामो संवादपछि राजनीतिक निकास निकालेको उनले दाबी गरे। देश संकटमा रहेका बेला आफूहरूले भूमिका खेलेको उनले बताए।

 

 

‘राति ९ बजेदेखि ४ बजेसम्म कमरेड प्रचण्ड र मैले सितलनिवासमा राष्ट्रपतिसंग लामो संवाद गरेर निकास निस्केको हो,’ कैलालीको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘अरु दलका नेताको त अत्तोपत्तो नै थिएन।’

 

नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइका साथै समाजावादको कार्यक्रमका साथ अघि बढ्ने पनि बताए। नेकपा निष्पक्ष निर्वाचन गराउने सरकारको साथमा रहने उनले स्पष्ट पारे।

 

 

‘अहिले बन्नुभएको प्रधानमन्त्रीलाई पनि तपाईँ अघि बढ्नुस्, राम्रो काम गर्नुस् भनेर सन्देश पठायौँ। समयमा निष्पक्ष चुनाव गराउनुस्, हामी साथ दिन तयार छौँ,’ उनले भने, ‘त्यसैले सबै नेताहरू उस्तै हुन्? होइन, राम्रा पनि छन्।’

 

नेपालले आफू र प्रचण्ड प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरू जनताको बीचमा लैजान पनि भनेका छन्।

 

‘मैले मेरो मात्रै होइन, अब सबैले सबैको प्रचार गर्नुपर्छ, एकीकृत पार्टी भइसकेपछि हामीले संकटको बेलामा खेलेको भूमिका पनि जानकारी गराउनुपर्छ,’ उनले भने, ‘अहिले पनि जेनजी पुस्तालाई पनि सही दिशामा अघि बढ्नुपर्छ भनेर उत्प्रेरित गरिरहेका छौँ।’