राप्रपा महाधिवेशन चुनावपछि, सबै निकायको म्याद ६ महिना थप

 संवाददाता    २०८२, १३ मंसिर शुक्रबार ११:१५     89 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) महाधिवेशन २१ फागुनको चुनावपछि हुने भएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकले महाधिवेशन निर्वाचनपछि आयोजना गर्ने निर्णय गर्दै केन्द्रदेखि सबै तहका समितिको म्याद ६ महिना थपेको छ ।

 

 

विधानको दफा ५९ (२) बमोजिम म्याद सकिएको मितिले ६ महिनाका लागि म्याद थप गर्ने निर्णय भएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । महाधिवेशनको कार्यतालिका तयार गरी आगामी बैठकमा पेस गर्न उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल सम्मिलित समिति गठन गरिएको उनको भनाइ छ ।

 

 

पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका तयार गर्न उपाध्यक्षद्वय विक्रम पाण्डे र हेमजंग गुरुङ तथा महामन्त्री राजेन्द्र गुरुङ रहेको समिति गठन गरिएको छ । राप्रपाले केन्द्रीय निर्वाचन समितिको सदस्यमा केन्द्रीय सदस्य भरत पाठक र धनसुर शाहीलाई थप गरेको छ ।

 

‘मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने निर्णय भएको छ,’ श्रेष्ठले भने, ‘राजा, राजनीतिक दल र जेन–जीबिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले राप्रपाले २३ मंसिरमा काठमाडौंमा उपत्यकाव्यापी प्रदर्शन गर्ने निर्णय गरिएको छ ।’

 

देशव्यापी सभा र प्रदर्शन आयोजना गर्न एवं सभा र प्रदर्शन व्यवस्थापन गर्न राप्रपाले प्रवक्ता ज्ञानेन्द्र शाही र गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह र सहमहामन्त्री धनबहादुर बुढा रहेको समिति गठन गरेको छ ।

 

राप्रपाले समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान रहेको वार्ता समिति गठन गरेको छ ।