प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट बर्खास्तीमा परेका जेन–जी प्रतिनिधिले नातावादविरुद्ध आवाज उठाउँदा आफूहरूमाथि प्रतिशोध साधिएको बताएका छन् ।
बर्खास्तीमा परेका प्रदीप ज्ञवाली, आकृति घिमिरे र अरुण कटुवालले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै जेन–जी आन्दोलनको मर्मविपरीत नातावाद र कृपावादलाई प्रशय दिने नियुक्तिको आलोचना र विरोध गर्दा प्रतिशोध भएको बताएका हुन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सचिवालयमा नियुक्ति दिलाएको विषय बाहिरिएपछि विरोध भएको थियो । यही कारण आफूहरूमाथि कारबाही भएको ज्ञवाली, घिमिरे र कटुवालको दाबी छ ।
जेन–जी प्रतिनिधिका तर्फबाट ज्ञवाली युवा तथा सामाजिक विज्ञमा, कटुवाल सूचना तथा प्रविधि विज्ञमा र शाखा अधिकृत घिमिरे सचिवालयमा नियुक्त भएका थिए । हाल प्रधानमन्त्री कार्कीले २० सदस्यीय सचिवालयमा कटौती गरेर ६ जनाको मात्रै बनाएकी छिन् ।
‘सचिवालय विस्तारकै क्रममा जब सम्माननीय प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नातावादलाई प्रशय दिँदै आफ्नै श्रीमती र अन्य आफन्तलाई समेत नियुक्ति गरेको खबर सञ्चारमाध्यममा आए, त्यसले हाम्रो गम्भीर ध्यानाकर्षण गरायो । झन् त्यसपश्चात् स्पष्टीकरणको ढाँचामा स्वकीय सचिवालयको लेटरहेडमै प्रकाशित अर्को विज्ञप्तिसमेत आएपछि हामीले त्यसमा आपत्ति जनायौँ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘… तत्पश्चात् सम्माननीयज्यूलाई प्रमुख स्वकीय सचिवले नै घेराबन्दीमा पारी प्रतिशोध साधेर हामी तीनजनाकै नियुक्ति खारेजी गरिएको हो भन्नेमा कुनै द्विविधा रहेन ।’ संदिग्धलाई नभई आफूहरूलाई बर्खास्त गर्नुले प्रधानमन्त्री कुनै एक व्यक्ति वा स्वार्थ समूहको चंगुलमा परेको पनि उनीहरूको आरोप छ ।