समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु पनि होः पोखरेल

 संवाददाता    २०८२, १३ मंसिर शुक्रबार ०७:०७     105 जनाले पढ़िसके



Spread the love

नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम रहेको बताएका छन्।

 

८औँ सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश, राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताए।

 

 

त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्ने उनको भनाई थियो।

 

एशियाली समाज सामाजिक र पारिवारिक सम्बन्धमा आधारित भएपनि क्रमशः सूचना र प्रविधिको तिब्रताका कारण विघटनतर्फ गइरहेको पोखरेलले बताए। भविष्यप्रतिको सुरक्षावोध नागरिकमा पैदा गर्नसके सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउन सकिने उल्लेख गरे।

 

 

उनले भने, ‘हाम्रो समाजमा जुन प्रकारको असन्तोष छ। त्यो असन्तोष पछाडिको कारण भनेको सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम पनि होला भन्ने म ठान्दछु। समाजमा जुन प्रकारको अराजकता, एक प्रकारको असहिष्णुता पछिल्लो समय अझ भन्ने हो भने देश, राष्ट्रप्रतिको लगाव नै कमजोर भएर जाने, आफ्ना सांस्कृतिक मूल्य, मान्यताहरुप्रति नै अनास्था र अविश्वास प्रकट गर्ने जुन प्रकारको प्रवृत्ति देखापरेको छ, त्यो प्रवृत्तिलाई सुधार गर्ने एउटा सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्दछ।’

 

महासचिव पोखरेलले अनौपचारिक क्षेत्र असंगठित रहेका कारणले उत्पन्न भएको समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे। श्रमीक पञ्जीकरण उपलब्धीमुलक काम भएकोपनि बताए।