१० अंकले बढ्यो सेयरबजार

 संवाददाता    २०८२, १२ मंसिर बिहीबार १५:२३     103 जनाले पढ़िसके



Spread the love

सेयरबजारले क्रमशः सुधारको लय समातेको छ। सोमबारयताका पछिल्ला चार कारोबारले बजारको लय सुधारिएको देखिएको हो।

बिहीबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेको छ। योसँगै ६ अर्ब ६६ करोडको कुल कारोबार भएको छ।

१ करोड ४६ लाख कित्ता सेयर बिक्रीपछि बिहीबार उक्त परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यसअघि सोमबार ५० अंकले बढेको बजारमा ७ अर्बको कारोबार भएको थियो। त्यस्तै मंगलबार ५ अंकले बढेको दिन ५ अर्ब ८२ करोडको र बुधबार साढे ९ अंकको वृद्धिसँगै ६ अर्ब ६९ करोडको सेयर किनबेच भएको थियो।

बिहीबारको कारोबारमा १३१ वटा सेयरको मूल्य बढ्दा १२१ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। यस दिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्किट तहमा बढेका छन्।

त्यसैगरी हिमस्टार ऊर्जा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त, जोशी हाइड्रोपावर, नेपाल एसबीआई डिबेन्चर ३.०२ प्रतिशतदेखि ७.७८ प्रतिशतसम्मले घटेका छन्।

कारोबारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४० करोडको किनबेच हुँदा ङादी ग्रुप पावरको १६, हिमालयन रिइन्स्योरेन्सको १५, सीईडीबी होल्डिंग्स १५ र युनाइटेड मोदी हाइड्रोको १४ करोडको किनबेच भएको छ।

साताको अन्तिम कारोबार दिन आज वाणिज्य बैंक, विकास बैंक, होटल र पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बीमा सूचक बढ्दा बाँकी घट्न पुगेका छन्। बिहीबार वाणिज्य बैंक सूचक २०.३० अंकले बढेको हो।