सामाजिक सुरक्षा राष्ट्रको पहिचान : प्रधानमन्त्री कार्की

 संवाददाता    २०८२, १२ मंसिर बिहीबार १३:२७     92 जनाले पढ़िसके



Spread the love

आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सामाजिक ऐक्यबद्धता, न्याय र राष्ट्रिय उत्पादकत्वको सबैभन्दा बलियो आधार भएको बताएकी छिन् ।

 

 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लाई श्रमिक, रोजगारदाता र सरकारको त्रिपक्षीय संयोजनको सफल मोडेल भएको उल्लेख गर्दै प्रधानमन्त्रीले थपिन्, ‘यो प्रणालीले हुनेले नहुनेलाई, धनीले गरिबलाई र निरोगीले बिरामीलाई प्रणालीगत रूपमा सहयोग गर्ने सामाजिक एकताको सिद्धान्तलाई आत्मसात् गर्छ । यसले हरेक नेपालीलाई विदेश पलायन होइन, स्वदेशमै सम्मानजनक रोजगारीको वातावरण दिन्छ ।’

 

 

सरकारको छोटो अवधिमै एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न तत्काल काम अघि बढाउने घोषणा गर्दै प्रधानमन्त्रीले औपचारिक क्षेत्रमा शतप्रतिशत अनिवार्य आबद्धता, अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सहयोगदानमा संघीय सरकारको स्पष्ट भूमिका, करार तथा ज्यालादारी सरकारी कर्मचारीहरूलाई कोषमा पूर्ण आबद्ध भएको अनुभूति दिलाउने र कोषको अर्बौँ रकमलाई न्यायोचित प्रतिफलसहित राष्ट्रिय पुँजी परिचालनको स्पष्ट नीति बनाउने चार प्राथमिकतामा जोड दिइन्।