धनकुटाको पाख्रीबास नगरपालिका– ५, माङमाया खोलाछेउमा कार र ट्रक ठोक्किँदा दुईजना घाइते भएका छन् । दुर्घटनामा कारचालक पाख्रीबास नगरपालिका– ४ की २३ वर्षीया जुनु श्रेष्ठ र उनको बुबा ५५ वर्षीय जीवन श्रेष्ठ घाइते भएका छन् ।
उक्त दुर्घटनामा कारचालक जुनुको हातमा सामान्य चोट लागेको छ भने उनको बुबा जीवनको टाउको र जिब्रोमा चोट लागेको छ । उनीहरूको अहिले स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
भोजपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०६०२ नम्बरको ट्रक र पाख्रीबासबाट भोजपुरतर्फ जाँदै गरको बा.५च ३६८४ नम्बरको कार आज बिहान ८ बजे एक–आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले बताए ।
ट्रकसँग कार ठक्कर खाँदा सडकबाट करिब १० मिटर तल खसेको थियो । उक्त ट्रकका चालक मोरङको कानेपोखरी गाउँपालिका– ४, बयरबनका ३६ वर्षीय छत्र परियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।