पूर्वमन्त्री खड्काविरुद्ध अख्तियारमा चेकसहित उजुरी

 संवाददाता    २०८२, ११ मंसिर बुधबार १०:३५     171 जनाले पढ़िसके



Spread the love

पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ । ‘अवैध चेक कारोबार र अनियमितता’मा संलग्न रहेकाले कारबाही गरिपाऊँ भनी उनीविरुद्ध जेन–जीको नाममा सोमबार उजुरी दर्ता भएको हो ।

जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा करोडौँ कमिसन लिएको आरोप उनीमाथि छ । कमिसनबापत लेनदेन भएको चेकको फोटोसहित उजुरी परेको अख्तियार स्रोत बताउँछ । माउन्टेन इन्फ्रा कम्पनीले पटेल इन्जिनियरिङलाई दिएको तीन करोडको चेक यही ठेक्काको कमिसन बाँडफाँट भएको दाबीसहित उजुरी गरिएको छ । ‘जगदुल्लामा त उनले आयोजना प्रमुख सञ्जय सापकोटालाई ठेकेदार कम्पनीका एजेन्टहरूसँग भेटघाट गराई मन्त्रालयमै बसेर कमिसनबापतको चेकको लेनदेन गराएका थिए,’ उजुरीमा भनिएको छ, ‘१०६ मेगावाट क्षमताको डोल्पामा बन्ने जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्कामा खड्काले अनुकूलको कम्पनीलाई ठेक्का दिलाउन मन्त्रालयमा नै बोलाएर अन्य कम्पनीहरूलाई चेक दिएका थिए ।’
खड्काले हाई हिमालय हाइड्रोका मालिक किरण मल्लसँग बिचौलिया अरुण केसीमार्फत सिक्टा आयोजनाको कमिसन लिएकोसमेत दाबी गरिएको छ । मल्लसँग बयान लिएमा यो विषय प्रस्ट हुने उजुरीमा उल्लेख छ । मन्त्री हुँदा सिँचाइका कर्मचारीको सरुवामा घुस लिएको तथा नेपाल स्काउटको जग्गाको भाडा नतिरेको र अस्वाभाविक रूपमा अर्बको सम्पत्ति जम्मा गरेको भन्दै छानबिनको माग गरिएको छ ।

यसअघि पनि खड्काविरुद्ध घुस लेनदेनसम्बन्धी विवादमा उजुरी परेको थियो । खड्कामाथि हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ ।