रास्वपाको सचिवालय बैठकद्वारा पाँच निर्णय

 संवाददाता    २०८२, ११ मंसिर बुधबार १०:३०     89 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीले सबै पालिका र्‍यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले यससम्बन्धि निर्णय गरेको हो।

बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको थियो । ‘सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा र्पु‍याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो ,’ बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ,‘सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ(राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो ।’

बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरेको छ।

त्यस्तै, प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ।

कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय बैठकले गरेको छ।