प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनमा भाग लिन मंगलबारसम्म ८० पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । सोमबार एमालेसहित १६ दलले निवेदन दिएका छन् ।
आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १–१० मंसिरसम्म दल दर्ताका लागि निवेदन दिने समय तोकेको छ । तोकिएको समयको अघिल्लो दिनसम्म आयोगमा दर्ता भएका १३५ दलमध्ये ८० ले चुनावमा भाग लिन निवेदन दिएका हुन् । बाँकी ५५ दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छैनन् । यसैगरी नयाँ दर्ताको प्रक्रियामा रहेका २२ दलले बुधबारसम्म दर्ता प्रमाणपत्र पाए चुनाव प्रयोजनका लागि निवेदन दिन पाउनेछन् । आयोगका अनुसार ०७९ को निर्वाचनमा भाग लिन ८७ पार्टीले दल दर्ता गराएका थिए ।
आयोगको कानुन तथा राजनीतिक महाशाखा प्रमुख सहसचिव यज्ञ भट्टराईले बुधबारसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भएको बताए । उनका अनुसार ११ देखि १८ मंसिरसम्म छानबिन गर्ने र २० गते दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
दलको संख्या १३४ पुग्यो, १८ नयाँ
निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३४ पुगेको छ । जसमा जेन–जी आन्दोलनपछि मात्रै दर्ता हुने नयाँ दलको संख्या १८ पुगेको छ । महाशाखाका अनुसार अझै २२ नयाँ दल दर्ताको प्रक्रियामा छन् ।