परिवारका सदस्य मिलेर निर्मम ढंगबाट महिलाको हत्या

 संवाददाता    २०८२, १० मंसिर मंगलवार १४:५२     330 जनाले पढ़िसके



Spread the love

रौतहटको वृन्दावन नगरपालिका– ९, मुसाहामा एक महिलाको परिवारकै सदस्यले बीभत्स ढंगले हत्या गरेको घटना बाहिरिएको छ । भुसाहानिवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरिमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् ।

घटनापछि खातुनका ससुरा शेख अली मोहम्मदसहित घरका सबै सदस्य खातुनका डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए ।

वृन्दावन– ९ का वडाध्यक्ष प्रवेज आलमका अनुसार मृतक खातुनको माइती गुजरा नगरपालिका– ७, पल्टुवा पर्दछ । गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुद्दिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा खातुनलाई भेटिएको थियो । तत्पश्चात् दुवैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको थियो । दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अली मोहम्मदको जिम्मामा अलाहुद्दिन र खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले बताए ।

ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात् ससुराली आएकै वेला सोमबार राति घरमै आफ्नी दिदीको हत्या भइरहेको देखेका खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गरे तिमीलाई पनि मार्दिन्छु भन्दै धम्की दिएपछि उनी घरबाट भाग्न सफल भएका थिए । फरार हुँदै उनले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको परिवारजनको भनाइ छ ।

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ । घटनास्थलबाट एक चक्कुसमेत बरामद भएको प्रहरीले जनाएको छ । खातुनको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।