कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक नेतृत्व पूर्णबहादुर खड्कालाई जिम्मा लगाएर स्वास्थ्योपचारका लागि सिंगापुर गएका थिए । लामो समय बस्ने योजनाअनुसार गएका उनी बिचमै फर्कनुलाई कांग्रेसभित्र आश्चर्यका रूपमा हेरिएको थियो ।
महाधिवेशनको मितिमा सहमति हुन नसकेको र महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा समूहले कार्यवाहक सभापति खड्कामाथि निरन्तर दबाब दिँदै आएपछि कांग्रेसका पूर्वपदाधिकारी तथा थप नेताले सभापति देउवालाई आउनुपर्ने अवस्था सिर्जना गरेको कांग्रेस स्रोत बताउँछ ।
देउवाले खड्कालाई कार्यवाहक सभापति दिएकोमा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत सन्तुष्ट थिएनन् । पूर्वउपसभापति विजय गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्री शशांक कोइरालासमेत ‘सात भाइ’ले कार्यवाहक सभापतिलाई सहयोग नगरेको र देउवालाई सक्रिय बनाउन जोड दिँदै आएको जानकार नेता बताउँछन् ।
स्रोतका अनुसार सात पूर्वपदाधिकारीमा गच्छदार, श्रेष्ठ र कोइराला अहिले देउवालाई सक्रिय गराउनुपर्ने पक्षमा छैनन् । तर, चार पूर्वपदाधिकारी देउवाको सक्रिय भूमिकाको पक्षमा थिए । उनीहरूलाई ज्ञानेन्द्र कार्की, एनपी साउद र बालकृष्ण खाणलगायतका प्रभावशाली नेताहरूले साथ दिएपछि देउवा सक्रिय हुने वातावरण बनेको स्रोतहरू बताउँछन् ।