स्वकीय सचिव नियुक्तिमा प्रश्न उठेपछि प्रधानमन्त्रीको सचिवालयले दियो प्रष्टीकरण

 संवाददाता    २०८२, ९ मंसिर सोमबार १३:३४     72 जनाले पढ़िसके



Spread the love

सचिवालयमा नियुक्त कर्मचारीको विषयमा गलत प्रचार भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रष्टीकरण दिएको छ। कानुनसम्वत् रुपमा भएको नियुक्तिको विषयमा भ्रम छरिएको सचिवालयको दाबी छ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो,’ प्रेस संयोजक रामबहादुर रावलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ।’

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफन्तलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री कार्यालयले प्रेस बिज्ञप्ति निकालेर बचाउ गरेको हो। प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार थोरै संख्यामा नियुक्त गरिएको सचिवालयको दाबी छ। सचिवालयमा ६७ जनाको दरबन्दी भएपनि २० जनाको सानो टिम मात्र बनाइएको बिज्ञप्तिमा उल्लेख छ।