जेन–जी आन्दोलनपछि अध्यादेश ल्याएर मतदाता नामावली संकलन खुला गरेको सरकारले १५ देखि २० लाख मतदाता थपिने अपेक्षा गरे पनि धेरै दर्ता प्रक्रियामा आएनन् । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली दर्ता कार्यक्रममा आठ लाख ३७ हजार ९४ ले नाम दर्ता गराउन आवेदन दिएका छन् ।
०७८ को जनगणनाअनुसार ०८२ मा मतदातायोग्य जेन–जी उमेर समूहको जनसंख्या मात्रै २३ लाख ९२ हजार १८८ थियो । अन्य समूहका पनि जोडिँदा मतदाता बन्न योग्य २५ देखि ३० लाख जनसंख्या रहेको र त्यसमा १५ देखि २० लाख जनसंख्याले जेन–जी आन्दोलनको रापताप अनि परिवर्तनको हुटहुटीसहित मतदाता नामावलीमा नाम दर्ता गराउने आयोगको अपेक्षा थियो । तर, व्यवहारमा भने त्यसको झन्डै आधा जनसंख्याले मात्रै मतदाता बन्न आवेदन दिएको छ ।
आयोगका अनुसार निर्वाचन कार्यालयमै गएर बायोमेट्रिक दिई मतदाता नामावली दर्ता गराउने तीन लाख ४४ हजार नौ सय १४ मात्रै छ । २७ कात्तिकदेखि ५ मंसिरसम्म खुला गरिएको राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकका आधारमा चार लाख ९२ हजार एक सय ८० ले दर्ता आवेदन दिएका छन् ।
निर्वाचन आयोगका पदाधिकारीहरू सहरी क्षेत्र र विदेशमा रहेका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गराउन आवेदन दिएको, तर ग्रामीण क्षेत्रको खासै उपस्थिति नदेखिएको निष्कर्षमा पुगेका छन् । राष्ट्रिय परिचयपत्रका आधारमा आएका आवेदनमध्ये अधिकांश विदेशबाटै आएको उनको भनाइ छ ।
‘अझै एक साता एनआइडीबाट गर्न पाइएको भए १५ लाख जति पुग्थ्यो,’ उनी भन्छन् । यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार दुई सय ३० मतदाता थिए ।त्यस्तै, निर्वाचन आयोगले आइतबार सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वाेच्चता पार्टी नेपाल दर्ता गरेको छ ।
दलको संख्या १३२ पुग्यो, १५ नयाँ
आयोगको कानुन तथा राजनीतिक महाशाखाका अनुसार अझै २५ नयाँ दल दर्ताको प्रक्रियामा छन्।
निर्वाचनमा भाग लिन कांग्रेससहित ५६ दलको निवेदन
२१ फागुनमा हुने निर्वाचनमा भाग लिन ५६ पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । शनिबार चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको कांग्रेसले पनि आइतबार दल दर्ताका लागि निवेदन दिएको छ । आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १० मंसिरसम्म निवेदन लिने, ११ देखि १८ गतेसम्म छानबिन गर्ने र २० गते दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।