कांग्रेस सभापति शेरबहादुर देउवानिकट २७ जना केन्द्रीय सदस्यहरूले २१ फागुनको निर्वाचनपछि पनि महाधिवेशन आयोजना गर्न सकिने विकल्प खुला राखेर मध्यमार्गी विकल्पमा सहमतिको प्रयास गरेका छन् ।
महाधिवेशन मितिमा सहमति नजुट्दा असमझदारी गहिरिँदै गएपछि नेता डा. शेखर कोइरालासँग आइतबार उनको विशालनगरस्थित सम्पर्क कार्यालयमा अलग्गै भेटेर उनीहरूले त्यस्तो मध्यमार्गी विकल्प प्रस्ताव गरेका हुन् । मंसिरबाटै वडा तहबाट महाधिवेशन सुरु गरी पुस मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्ने, तर २१ फागुनमै चुनाव हुने अवस्था बनेमा चुनावपछि मात्र महाधिवेशन गर्ने निर्णय गर्ने विकल्प उनीहरूले कोइरालासमक्ष प्रस्तुत गरेका हुन् ।
कोइरालाले आफू सो प्रस्तावप्रति सकारात्मक रहेको भन्दै शीर्ष नेताहरू र पूर्वपदाधिकारीहरूसँग छलफल गरेर सहमति जुटाउन सक्रिय बन्ने बताएको भेटवार्तामा सहभागी नेताहरूले जानकारी दिए ।
‘विशेष अधिवेशन पक्षधर साथीहरूलाई विश्वासमा लिएर नियमित अधिवेशन गर्ने, पार्टी एकता बचाएर संगठनलाई मजबुत कसरी बनाउने विषयमा तपाईंले भूमिका खेल्नुस् भनेर हामीले उहाँलाई ध्यानाकर्षण गरायौँ,’ भेटमा सहभागी केन्द्रीय सदस्य डा. पुष्पा भुसालले, ‘मंसिरमै सुरु गरेर पुस मसान्तभित्र राष्ट्रिय महाधिवेशन गर्ने, तर चुनाव फागुनमै हुने भयो भने पार्टी चुनावमै केन्द्रित हुने समझदारीसहित महाधिवेशनको मिति पछि सार्ने प्रस्तावमा निर्णय गर्दा उपयुक्त हुने सुझाव दियौँ, उहाँले पनि म सकारात्मक छु, कोसिस गर्छु भन्ने जवाफ दिनुभएको छ ।’ उनले अन्य नेताहरूसँग पनि यही मध्यमार्गी प्रस्ताव लिएर निरन्तर कुराकानी भइरहेको जानकारी दिइन् ।