राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका नेता सन्तोष परियारले युवापुस्ता, श्रमिक तथा वुद्धिजीवीहरूलाई एकताबद्ध भएर परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरेका छन्।
सोमबार प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै परियारले देशको सामाजिक-राजनीतिक समस्याबाट अघि नभाग्न आग्रह गरे।
‘यो देशका नमुखा, मजदुर, श्रमिक, गरिब जनतालाई माया गर्ने मेरा विद्धान साथीहरू, लोकतान्त्रिक र प्रगतिशील भन्न चाहने जेन–जी पुस्ताका साथीहरू-आउनुहोस्, हामी एकै ठाउँमा मिलेर काम गरौँ,’ उनले भने।
उनले वर्तमान पुस्ताले जिम्मेवारीबाट पन्छिन नहुने उल्लेख गर्दै चेतावनी दिए, ‘यदि हामीले आज पनि समस्या समाधानतर्फ कदम चाल्न सकेनौँ भने इतिहासले हामीलाई माफ गर्ने छैन। इतिहासले हामीलाई बैमानी पुस्ता भन्छ।’
परियारले एकता, इमानदारी र संघर्षमार्फत मात्र देश परिवर्तन सम्भव हुने बताउँदै सबैलाई साझा लक्ष्यका लागि उभिनु पर्नेमा जोड दिए।