धनकुटाको पाख्रिबासमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
पाख्रिबास नगरपालिका–५, भैँसेस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा.४ ख ५५०२ नम्बरको सप्तकोशी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
इलाका प्रहरी कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल धनकुटा पठाइएको छ।
दुर्घटनामा घाइते भएकी संखुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उपचारका क्रममा मृत्यु भएको हो।
घाइते १४ मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला अस्पताल धनकुटामा प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका दुई घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यी हुन् दुर्घटनाका घाइते
• प्रहरी जवान सुजता गिरी (धनकुटा महालक्ष्मी–३) : मेरुदण्डमा चोट।
• सगिता राई (संखुवासभा सिलिचुङ–३) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य।
• नरेन्द्र राई : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य।
• लमु शेर्पा (संखुवासभा पाँचखपन–९) : टाउकोमा चोट, अवस्था मध्यम।
• निर्जला राई (उदयपुर लिम्चुङबुङ–१) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम।
• बिनिता राई (११ वर्ष) : टाउकोमा चोट, अवस्था मध्यम।
• जेसन राई (१४ वर्ष) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य।
• सन्त बहादुर तामाङ (सिन्धुली) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम।
• पासाङ शेर्पा (भोजपुर सिलिचुङ–५) : टाउकोमा चोट, अवस्था मध्यम।
• रत्नबहादुर विक (खाँदबारी–७) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर।
• दिपेन्द्र बुढाथोकी (हाइस चालक, ठेगाना नखुलेको) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, घोपा रेफर।