मेलाबाट फर्किँदै गरेका युवकमाथि गोली प्रहार, आरोपी तत्कालै पक्राउ

 संवाददाता    २०८२, ५ मंसिर बिहीबार ११:४७     76 जनाले पढ़िसके



Spread the love

जाजरकोटको बारेकोटमा गोली प्रहारबाट एकजना घाइते भएका छन्।

बारेकोट गाउँपालिका–६ स्थित कार्की जिउलामा लागेको मेलाबाट घर फर्किने क्रममा मंगलबार राति गोली प्रहार हुँदा बारेकोट गाउँपालिका–७ का ३४ वर्षीय यमराज सिंह घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

ढाँडमा गोली लागेर घाइते भएका सिंहलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल जाजरकोट पठाइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई राति नै थप उपचारको लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै भेरी अस्पताल र पछि न्युरो अस्पताल नेपालगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुधिन कुमार खड्काले जानकारी दिए।

घाइते सिंहको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटना अनुसन्धानको क्रममा गोली प्रहार गरी फरार रहेका सोही वडाका ३२ वर्षका टेकेन्द्र नेपालीलाई पक्राउ गरेको छ।

उनलाई आफ्नै घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको निरीक्षक खड्काले जानकारी दिए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।