नेकपा एमालेका नेता रामकुमारी झाँक्रीले सिमरा घटनाप्रति दु:ख व्यक्त गर्दै सरकारलाई बदलाको भावनाबाट होइन संवादबाट अघि बढ्न आग्रह गरेकी छन्।
एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत कार्यक्रममा लागि जाने क्रममा बुधबार बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो।
यस विषयमा एमाले नेता झाँक्रीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी हुन्।
‘हिजो सिमरामा जे घटना भयो, अत्यन्तै दुःखद घटना भयो। अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरूबिच मुठभेड होस् भन्ने चाहन्छन्। कुनै न कुनै बहानामा संविधान फ्याँक्न चाहन्छन्। हाम्रा हजारौँ नागरीक र अग्रजहरूको बलिदानबाट आएको व्यवस्था र संविधान हो यो’, उनले लेखेकी छन्, ‘नेपालको कुनै पनि भूभागमा निर्वाध आवतजावत गर्ने पाउने, विचारको छनोट गर्न पाउने, आफूलाई मन पर्ने विचार वा दलमा संगठित हुन पाउने, शान्तिपूर्ण रूपमा भेला, सभा सम्म्लेलन गर्न पाउने, संविधान प्रदत्त हकहरू हुन्। यी हकहरू यही संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको छ। यसलाई अक्षुण्ण राख्नु सरकारको कर्तव्य हो।’
यस्तै उनले सरकारलाई बदलाको भावनाबाट होइन संवाद गरेर अघि बढ्न सुझाव पनि दिएकी छन्।
उनले लेखेकी छन्, ‘शान्ति सुव्यवस्था कायम गर्नु, जनता र सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षाको पूर्ण प्रत्यभूति दिनु, शान्ति सुरक्षाको व्यवस्था गर्नु, सरकारको पहिलो जिम्मेवारी हो। हिजो जे भयो के ठिक भयो त? यसरी नै हो नागरिक हकहरू खुम्चिँदै जाने। सरकार अब बदलाबाट होइन, संवादबाट अगाडि बढोस्। सबै देशभक्त नेपालीहरू फेरि एकपटक जुटौँ। यहाँ सवाल देशको छ, राष्ट्रको छ, देशको सार्वभौमसत्ताको छ।’
हालै मात्र एकीकृत समाजवादीबाट एमालेमा फर्केकी झाँक्रीले यसो भनिरहँदा पार्टी सचिव योगेश भट्टराईले भने यस विषयमा फरक धारणा राखेका छन्।
उनले मधेसमा एमालेको दयनीय अवस्थाबारे अध्यक्ष केपी शर्मा ओलीलाई गरेका छन्।