नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बाबुआमाले अनुचित काम गरेको भए पनि छोराछोरी दोषी नहुने भन्दै ‘नेपोबेबी’ अभियानको आलोचना गरेका छन्।
मंगलबार च्यासलमा पार्टीका निवर्तमान सांसदहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्। नेपालविरुद्ध ‘डिप स्टेट’लगायतका विभिन्न माध्यमहरू प्रयोग भएका जिकिर गर्दै ओलीले ‘नेपोबेबी’ अभियान बालबालिकाविरोधी अपराध भएको जिकिर गरे।
हरेक अभिभावकले आफ्ना सन्तानलाई क्षमताअनुसार हुर्काउने उल्लेख गर्दै ओलीले ‘नेपोबेबी’ अभियानका कारण बालबालिका विद्यालय, कलेज जानसमेत डराउने अवस्था भएको बताए।
ओलीले भने, ‘जसले पनि आफ्ना बच्चाबच्चीलाई क्षमताअनुसार, गच्छेअनुसार प्यारो गरेरै हुर्काउँछ। बाबुले अनुचित ढंगले कमाएको छ भने पनि बाबु दोषी हुन सक्छ, आमा दोषी हुन सक्छ। बच्चाबच्ची दोषी हुँदैन। नेपोबेबी भनेर बच्चाबच्चीमाथि मानसिक यातना दिने, प्रताडना दिने, आतंक सिर्जना गर्ने अमानवीय, बालबालिकाविरोधी, अत्यन्त्यै भँडुवा क्रियाकलाप सुरु गरियो।’