कर्णाली याक्ससँगको प्रतिस्पर्धात्मक खेलमा चितवन राइनोज विजयी भएको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार भएको खेलमा चितवन चार विकेटले विजयी भएको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गरेको हो।
योसँगै चितवनले अघिल्लो सिजनमा कर्णालीसँग भोगेको दुई हारको बदला पनि लिएको छ। कर्णालीले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको चितवनले पाँच बल बाँकी छँदै ६ विकेटको क्षतिमा जित हासिल गरेको हो।
चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे। उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले ५२ रन बनाए।
त्यस्तै, सैफ जैव ३८ रन बनाउँदा सोमपाल कामीको बलमा एलबीडब्लुको धरापमा परे। उनले १६ बलमा दुई चौका र चार छक्का प्रहार गरे।
प्रारम्भिक ब्याटर दिपक बोहोराले ३६ बलमा ६ चौका र एक छक्का सहयोगमा ४२ रन बनाउँदा युवराज खत्रीको बलमा सोमपाल कामीको हातबाट क्याच आउट हुन पुगे।
कप्तान कुशल मल्ल १५ बलमा दुई छक्का सहयोगमा २० रन बनाउँदा सोमपाल कामीको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।
डेबिड मलान ६ रनमा युनिससिंह ठकुरीको बलमा मार्क वाटको हातबाट क्याच आउट नै भए। देव खनाल २ रनमा रनआउट भए।
यसैगरी, अर्जुन साउद दुई र सोहेल तनविर ६ रनमा अविजित रहे। रविले पहिलो बलमा नै छक्का प्रहार गर्दै चितवनलाई सहज जित दिलाएका हुन्।
कर्णालीका कप्तान सोमपाल कामीले दुई विकेट लिए। त्यस्तै, युनिससिंह ठकुरी र युवराज खत्रीले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो।
कर्णालीका लागि प्रारम्भिक ब्याटर प्रियांक पञ्चलले ९० रन बनाए। उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गर्दा रवि बोपाराको बलमा देव खनालको हातबाट क्याच आउट भए। २१ बलमा एक चौका सहयोगमा १६ रन बनाएका मार्क वाट सोहेल तनविरको बलमा रिजन ढकालको हातबाट क्याच आउट भए।
प्रारम्भिक ब्याटर म्याक्स ओउड ६ बलमा दुई रन बनाउँदा सैफ जैबको बलमा बोल्ड आउट भए।
पवन सरार्फ २७ र नजिबुल्लाह जड्रान चार रनमा अविजित रहे। पवनले १६ बलमा तीन छक्का र एक चौका प्रहार गरे।
चितवनका लागि सोहेल तनविर, सैफ जैब र रवि बोपाराले एक-एक विकेट लिए।
आजको खेलमा चितवन राइनोजका रवि बोपारा प्लेयर अफ द म्याच भए। उनले चितवनका लागि ५२ रन बनाए भने एक विकेट पनि लिएका थिए।
अब अर्को खेलमा अपराह्न ४ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दै छन्।