बंगलादेशमा फेरि हिंसा र अस्थिरता तीव्र भएको छ।
राजधानी ढाकालगायत धेरै सहरमा विस्फोट र आगजनी भएका समाचार सार्वजनिक भएका छन्।
यसले विशेष गरी ढाकामा तनाव बढाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरिएको मुद्दामा अदालतले फैसला सुनाउन लागेका बेला हिंसा भड्किएको हो।
अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) ले हसिनाविरुद्धको मुद्दामा सोमबार फैसला सुनाउँदै छ।
फैसला हुनुभन्दा अगाडि बंगलादेशको अन्तरिम सरकारले देशभर सुरक्षा बललाई उच्च सतर्कतामा राखेको छ। सरकारले प्रदर्शनकारीहरूलाई गोली हान्न आदेश दिएको छ।
फैसला गरिनु अघिल्लो दिन आइतबार राति शेख हसिनाले सामाजिक सञ्जालमा अडिओ सन्देश जारी गर्दै आफ्नो दल अवामी लिग पार्टीका समर्थकहरूलाई सरकारी प्रतिबन्धका बाबजुद विरोध प्रदर्शन जारी राख्न आग्रह गरेकी छन्।
बीबीसी बंगला सेवाका अनुसार, न्यायाधिकरणको रजिस्ट्री कार्यालयले आज बिहान ११ बजे (स्थानीय समय) हसिनाविरुद्ध फैसला सुनाउने जानकारी दिएको छ।
अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ।
यसैबीच सर्वोच्च अदालतले फैसला गर्नुअघि न्यायाधिकरणमा सुरक्षा कडा पार्न सेना तैनाथ गर्न सेना परिचालन गर्न सेनालाई पत्र लेखेको छ।
शेख हसिना र अन्य तीन अभियुक्तविरुद्धको मुद्दाको फैसला बंगलादेश टेलिभिजन (बीटीभी) ले प्रत्यक्ष प्रसारण गर्नेछ।
बंगलादेशमा सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि हसिनाको १५ वर्षे लामो शासन अन्त्य भएको थियो।
भिडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेकी थिइन्। अहिले उनी भारतमा लुकेर बसेकी छन्।
संयुक्त राष्ट्रसंघका अनुसार हसिनाले विद्यार्थी आन्दोलन दबाउने क्रममा १ हजार ४०० मानिस मारिएका थिए। उनीविरुद्धको मुद्दाको केन्द्र विषय यही हो।