आफ्नो दल भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले विधानसभा चुनावमा दुईतिहाइ बहुमत ल्याएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारले विकासको नयाँ उचाइ हासिल गर्ने भावना देखाएको भनी प्रशंसा गरेका छन्।
बिहार विधानसभाका २४३ सिटमध्ये २०२ स्थानमा एनडीएले जित हासिल गरेपछि उत्साहित मोदीले मतदाताले जातिवादलाई पूर्ण रूपमा अस्वीकार गरेको दाबी पनि गरेका छन्।
शनिबार गुजरातको सुरत पुगेका प्रधानमन्त्री मोदीले बिहारका समाजका सबै वर्गले एनडीएलाई अभूतपूर्व समर्थन दिएको बताए।
‘दुई वर्षदेखि बिहारमा जमानतमा रहेका नेताहरू बिहार गएर जातिवादी भाषण दिइरहेका थिए र आफ्नो क्षमताले भ्याएसम्म जातिवादको विष फैलाउने प्रयास गरिरहेका थिए।’
‘उनीहरूले सोचेका थिए- यो आफूहरूको खेल हुनेछ। तर बिहारको यो चुनावले जातिवादको त्यो विषलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। यो देशका लागि धेरै उज्ज्वल संकेत हो।’
प्रधानमन्त्री मोदीले अगाडि भने, ‘बिहार आज संसारभर छाएको छ। तपाईं संसारमा जहाँ जानुहुन्छ, तपाईंले बिहारको प्रतिभा देख्नुहुनेछ। अब बिहारले विकासको नयाँ उचाइ हासिल गर्ने भावना देखाउँदै छ।’
चुनावमा २०२ सिट जित्दै सत्तारुढ एनडीएले बिहारमा शक्तिशाली सरकार बनाउने पक्का भएको छ।
कंग्रेस नेतृत्वको महागठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) भने ३४ सिटमा सीमित भए भने अन्य दलले ७ सिट जिते।