जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका प्रदेश प्रमुख पुगे सर्वोच्च, थुनामुक्त हुनुपर्ने माग

 संवाददाता    २०८२, २९ कार्तिक शुक्रबार १२:३७     108 जनाले पढ़िसके



Spread the love

जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले सर्वोच्चमा निवेदन दायर गरेका छन् । उनले २३ कात्तिकमा थुनामुक्त गर्न माग गर्दै ७३ निवेदन दिएका हुन् ।

अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्धय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए ।

उच्चले १२ भाद्र २०८२मा अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । जिल्ला र उच्चको आदेशविरुद्ध उनी सर्वोच्च पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । त्यसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । जिल्लाले थुनामा पठाएपछि अहिराज वेरितको निवेदन लिएर उच्च अदालत पुगेको थिए । उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।

४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो । अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए । उनी मधेश प्रदेशको प्रदेश प्रमुख भएका थिए ।