प्रधानमन्त्रीलाई एमाले महासचिवको प्रश्न- कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ?

 संवाददाता    २०८२, २९ कार्तिक शुक्रबार ०९:४२     155 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उर्जामन्त्री कुलमान घिसिङलाई मन्त्री पदमा राखिराख्न उचित नहुने बताएका छन्।

महासचिव पोखरेलले पार्टी खोलेर चुनावमा जाने घोषणा गरिसकेका व्यक्तिलाई चुनावी सरकारमा राख्न नहुने तर्क गरेका छन्। पोखरेलले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्री सुशिला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ?’

उर्जामन्त्री घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। उनले पूर्व ऊर्जासचिव अनुप उपाध्यायको नेतृत्वमा पार्टी गठन गरेका हुन्। चुनाव हुन केही समयअघि मात्रै मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन्।

एमाले महासचिव पोखरेलले भने अहिले नै घिसिङलाई मन्त्रीबाट हटाउनुपर्ने बताएका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै पार्टी खोलेको व्यक्तिले मन्त्री पदमा बस्न नैतिक रुपमा पनि उचित नभएको जिकिर गरेका छन्।

पोखरेलले प्रधानमन्त्री कार्कीलाई प्रश्न गरेका छन्, ‘ यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र?’