आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेस नै चुनाव भाँड्ने गतिविधिमा लागेको भन्दै आलोचना गरेका छन्। चुनाव गराउने दायित्वमा रहेको सुशीला कार्की नेतृत्वको सरकारको तयारी चुनाव गराउनेभन्दा पनि आफ्नो सत्ता लम्ब्याउने र नियन्त्रित अस्थिरता निम्त्याउनेतर्फ केन्द्रित रहेको साहको आरोप छ ।
पार्टीको लुम्बिनी प्रदेश कमिटीको विशेष बैठकलाई बुटवलमा आज (बिहीबार) सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रजातन्त्रको हिमायती भन्ने कांग्रेस अहिले केन्द्रीय समितिको बैठकसमेत सही तवरले चलाउन नसक्नेगरि ‘कुहिरोमा हराएको काग’झैँ भएको भन्दै कांग्रेसको गतिविधि पनि चुनाव हुन नदिने षड्यन्त्रतर्फउन्मुख रहेको आरोप लगाए।
उनले जेनजी आन्दोलनमा युवाहरूको ज्यान गएकोमा कुनै पश्चताप र सार्वजनिक आत्मग्लानी नगरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त चुनाव नचाहनु स्वभाविक भए पनि कांग्रेसले समेत आफूलाई ओलीकै पछाडि उभ्याएको आरोप लगाए।
उनले प्रतिनिधिसभाको चुनाव हुन नदिनको लागि एमाले नेतृत्वले पूनःस्थापनाको नाटकमञ्चन गरेको भन्दै सचेत नेपालीले अब चुनावभन्दा अर्को बाटो नचाहेको स्मरण गराए।
अध्यक्ष साहले जेन–जी आन्दोलनको भावना र स्पिरिटलाई वर्तमान सरकार र यसका मन्त्रीहरुले कुल्चिएको र ठूलो धोका दिएको पनि आरोप लगाए। कुलमान घिसिङले जेनजी आन्दोलनको अपहरण गरेको उनको आरोप छ।
‘यो सुशीला कार्की नेतृत्वको सरकारको जन्म कसरी भयो ? निर्दलीय सरकार बनाएको भनिएको होइन? अनि कुलमानले सरकारमा बसेर दल खोल्ने काम गरे, यो कुरा नेपाली जनताले नजिकबाट हेरिरहेका छन्,’ उनले भने,’म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु–कुलमानको गतिविधिप्रति नजर राख्नुहोस, यो सरकार निर्दलीय हो भने कुलमानले शक्तिको दुरुपयोग गरेर दल खोलेको कुरा आएको छ, तत्काल बर्खास्त गर्नुहोस।’
उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि पनि प्रश्न उठाए।