भारतका प्रियाङ्क कर्णाली याक्समा अनुबन्ध

 संवाददाता    २०८२, २८ कार्तिक बिहीबार १०:४४     100 जनाले पढ़िसके



Spread the love

कर्णाली याक्स स्पोट्स प्रा.लीले भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ।

दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्र्याएको हो।

कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरेको जानकारी गराएका छन्।

‘ब्याटिङ बलियो बनाउने योजनासहित हामीले रणजी ट्रफी खेलिसकेका प्रियाङ्कलाई अनुबन्ध गरेका हौँ,’ निर्देशक घिमिरेले भने, ‘प्रियाङ्कको आगमनपछि हाम्रो ब्याटिङ झनै बलियो हुने विश्वास छ।’

यसअघि कर्णाली याक्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलो पटक कर्णाली याक्सबाट एनपिएल खेल्दै छन्। ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लोपटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए।

३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन्। १२७ खेलमा आठ हजार ८ सय ५६६ रन बनाएका छन्। जसमा २९ शतक र ३४ अर्धशतक छन्।

यस्तै, लिस्ट एमा ९७ खेल खेल्दा ८ सतकसहित ३ हजार ६ सय ७२ रन बनाएका हुन्।

टी-२० तर्फ ५९ खेलमा ९ अर्धशतकसहित १ हजार ५ सय २२ रन बनाएका छन्। यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौँको होटल याक एन्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ।

टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ।

अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।