सडकमै आएर जंगली हात्तीले आक्रमण गर्दा एकजना ट्रक चालकको मृत्यु

 संवाददाता    २०८२, २५ कार्तिक सोमबार १५:२१     173 जनाले पढ़िसके



Spread the love

पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको पथलैया जंगल क्षेत्रमा राजमार्गमै आएर जंगली हात्तीले आक्रमण गर्दा एकजना ट्रक चालकको मृत्यु भएको छ।

आज बिहान सबा ८ बजेतिर जितपुर सिमरा उपमहानगरपालिका- १६ काटघाटस्थित सडकमा यात्रा गरिरहेका सवारी साधन र यात्रुमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।

हात्तीको आक्रमणबाट मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका १ निवासी ट्रक चालक ४० वर्षीय राजकुमार चौधरी छन्।

हात्तीको बथानले सडकमा गुडिरहेका सवारीसाधनमा आक्रमण गर्दा केही सवारीमा पनि क्षति पुगेको उनले बताए।

हात्तीको आक्रमणपछि त्यस क्षेत्रमा बिहान केही समय आवागमन अवरुद्ध भएको थियो।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र वन रक्षकहरू परिचालन गरिएको इन्सपेक्टर खरेलले बताए।

‘त्यस क्षेत्रमा हिजैदेखि हात्तीको बथान देखिएको थियो,’ इन्सपेक्टर नेपालले भने, ‘हामीले केही सवारी साधनलाई आज बिहान पनि हात्ती देखिएको क्षेत्रबाट डाइभर्ट गरेका थियौँ। तर, ट्रक चालक चौधरीले अटेर गर्दा घटना भयो।’

हात्तीको आक्रमणबाट मारिने चौधरी ना.४ ख १८३० नम्बरको ट्रक चालक हुन्। आक्रमणबाट जोगिन ट्रकबाट ओर्लिएर भाग्दै गर्दा उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

उनको शव राजमार्ग भन्दा एकसय मिटर जति दक्षिणतर्फ जंगलमा फेला परेको नेपालले बताए।

हात्तीले राजमार्गमा आएर यात्रुलाई आक्रमण गरेको जानकारी पाएपछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र एसपी सन्तोष तामाङ लगायतका अधिकारी पनि घटनास्थलमा पुगेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जिवन लामिछानेको कमाण्डमा ७ जनाको टोलीसमेत परिचालन गरिएको छ। मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

केही समयअघि पथलैया नजिक राजमार्गमै बाघले आक्रमण गर्दा एकजनाकाे मृत्यु भएकाे थियाे।