विराटनगरस्थित बाल सुधार गृहबाट सातजना बाल बिठ्याइँकर्ता (कैदी)फरार भएका छन्। बिहीबार साँझ उनीहरू सुरक्षामा खटिएका प्रहरीलाई कुटपिट गरेर फरार भएका प्रहरीले जनाएको छ।
फरार हुनेमा बाल बिज्याइँ गरेर सुधार गृहमा बस्दै आएका १८ वर्ष माथिका युवक छन्।
बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेले कार्यालय बन्द हुने समय पारेर ती बिझ्याइँकर्ताले समूह बनाएर ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेपछि गेट खोलेर भागेको जानकारी दिए।
उनीहरु जबरजस्ती करणी, लागू औषध, हत्या लगायतका अपराधमा संलग्न रहेका कैदीहरु हुन्।
फरार भएकामध्ये एक जनालाई स्थानीयले हिजै साँझ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। बाँकी ६ जना भने अझै फरार रहेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरार सबै जना १८ वर्षभन्दा माथिका छन्। बाल सुधार गृहमा सुरक्षामा खटिने प्रहरीसँग हतियार नहुने र २७–२८ वर्ष उमेर समूहका विज्याइँ कर्तासमेत राख्नुपर्दा सुरक्षामा चुनौती थपिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले बाल सुधार गृहमा दुईसय ५५ जना बस्दै आएका थिए। त्यसमध्ये जेनजी आन्दोलनका क्रममा २०६ जना भागेका थिए।
भागेकामध्ये १९१ जना सम्पर्कमा आएका थिए। त्यतिबेला भागेका अझै १५ जना फरार रहेको चुडालले जानकारी दिइन्।
बिहीबार प्रहरीलाई कुटेर भागेकाहरू नयाँ अपराधमा संलग्न भएर आएकाहरु हुन्।
केही समयदेखि जेनजी आन्दोलनसँग सम्बन्धित समूहका बालकहरूले सुधार गृहभित्र हुलदङ्गा मच्चाउने गरेका छन्।
बाल सुधार गृहमा उमेर पुगेका युवाहरू हुँदा विवाद, झडप र नियमित आन्दोलन हुँदै आएको सुरक्षा निकायले जनाएको छ। बाल सुधार गृहमा ३० वर्ष भन्दा माथिका युवा पनि छन्।