बागमतीमा बेपत्ता किशोर मृत अवस्थामा फेला

 संवाददाता    २०८२, २२ कार्तिक शुक्रबार १२:०७     77 जनाले पढ़िसके



Spread the love

कात्तिक पूर्णिमाको अवसरमा सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा नुहाउन गएका एक किशोर तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् ।

 

सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका १४ वर्षीय आशिक यादव कात्तिक १९ गते बिहान करिब ६:३० बजे बागमती नदीमा नुहाउन गएका थिए । खोजतलास गर्दा आशिकको कपडा बागमती नदी किनारमा फेला परेको जानकारी परिवारले प्रहरीलाई दिएका थिए । बर्दिवासस्थित २ नम्बर बाहिनीबाट सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यबहादुर श्रेष्ठको कमाण्डमा ९ जनाको गोताखोर टोली पनि घटनास्थल पुगेको थियो । टोलीले दुई दिनसम्म खोजतलास जारी राखे पनि आशिक फेला परेका थिएनन् ।

घटनाको तीनदिनपछि शुक्रबार बिहान रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका–२ पिपरास्थित बागमती नदीको किनारमा आशिकको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थल खैर्वा बहुअर्वाबाट करिब ७ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्छ । शवको मुचुल्का उठाई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।