खेलाडीहरूले एन्फाको गेटमै झुन्ड्याइदिए मेडल

 संवाददाता    २०८२, २१ कार्तिक बिहीबार १३:५६     118 जनाले पढ़िसके



Spread the love

करिब ३ वर्षसम्म शहिद स्मारक ए डिभिजन लिग लगायतका अन्य लिग हुन नसकेपछि खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य गेटमा मेडल झुन्ड्याएर विरोध जनाएका छन्।

नेपाल फुटबल खेलाडी संघको पहलमा बिहीबार राष्ट्रिय टोलीका खेलाडीसहित ए, बी र सी डिभिजन क्लबका खेलाडीले एन्फाअगाडि विरोध प्रर्दशन गरेका हुन्। फुटबल खेलाडीहरूले क्लबका पदाधिकारी र अन्य खेलका खेलाडी र फुटबल समर्थकले साथ दिएका थिए।

खेलाडीहरूले विरोध कार्यक्रम शान्त वातावरणमा एन्फा परिसरभित्र गर्ने बताए पनि एन्फा नेतृत्वले मुल गेटबाट प्रवेश नदिएपछि खेलाडीहरूले गेट बाहिरबाट नै विरोध प्रर्दशन गरेका थिए।

एन्फाले मुख्य गेटमा सेक्युरिटी गार्डहरू राखेर खेलाडीलाई प्रवेशमा रोक लगाएको थियो। एन्फा परिसरमा रोक लगाएपछि खेलाडीहरूले विभिन्न प्रतियोगितामा पाएको मेडलहरू एन्फा गेटमा नै झुन्ड्याए।

फुटबल समर्थकहरूले वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल, मैदानभित्र र बाहिर फेयर प्ले, घरेलु लिग चलाउ, फुटबल बचाउ, विश्वकप त ४ वर्षमा आउँछ ए डिभिजन कहिले आउँछ, फुटबल भन्छौँ दिन र रात खेल नहुँदा पाक्दैन भात, जीवनभर फुटबल सिक्ने खेल्न नपाए कसरी टिक्ने लगायत लेखिएको प्ले कार्ड बोकेका थिए।

घरेलु लिग ठप्प हुँदा खेलाडीहरूले सामाजिक सञ्जालबाट एन्फालाई दबाब दिइरहेका थिए। अहिलेको शान्तीपूर्ण विरोधबाट पनि एन्फाले यसअघि तोकिएको समयमा नै लिग आयोजना नगरे अन्य विरोधका कार्यक्रम ल्याउने खेलाडी संघले बताएको छ।