जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगले नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीको मोबाइल फोन फोरेन्सिक परीक्षणका लागि प्रहरीको डिजिटल ल्याब (DFL) मा पठाएको छ।
आयोग स्रोतका अनुसार, जोशीले दिएको बयानको सत्यता परीक्षण गर्न तथा उनको सम्पर्क, सन्देश र सम्भावित संवाद विवरण पत्ता लगाउन मोबाइल फोन डिजिटल ल्याबमा पठाइएको हो। आयोगले शुक्रबार उनले दिएको बयानपछि उक्त निर्णय गरेको हो।
बयानका क्रममा जोशीले भदौ २४ गते नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएको डेढ घण्टापछि आफूले एक पत्रमा हस्ताक्षर गरेको स्वीकार गरेका थिए। उनले गृह मन्त्रालयका तत्कालीन सचिवसहित उच्च पदस्थ अधिकारीको दबाबमा पत्रको विवरण नपढी हस्ताक्षर गरेको बताएका छन्।
लामिछानेको रिहाइलगत्तै देशभरका कारागारमा तोडफोड, आगजनी र कागजात नष्टजस्ता घटना भएका थिए। आयोगले ती घटनामा कसको भूमिका थियो भन्ने पत्ता लगाउन जोशीको मोबाइल फोरेन्सिक परीक्षणबाट नयाँ तथ्य खुल्ने अपेक्षा राखेको छ।
आयोगले आजदेखि उक्त घटनासँग सम्बन्धित प्रहरी कमान्डरहरूको पनि बयान लिन सुरु गर्ने तयारी गरेको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, बयान प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइनेछ, तर कुन अधिकारीबाट बयान सुरू गर्ने भन्ने विवरण गोप्य राखिएको छ।