दुर्गा प्रसाईंले गरेको आन्दोलनमा पनि सहभागी थियो टीओबी समूह

 संवाददाता    २०८२, २१ कार्तिक बिहीबार १०:३९     113 जनाले पढ़िसके



Spread the love

जेनजी आन्दोलन हिंसात्मक बनाउन भूमिका खेलेको आरोप लागेको टिबेटन ओरिजिनल ब्लड (टीओबी) समूह यसअघि दुर्गा प्रसाईंले गरेको आन्दोलनमा पनि सहभागी भएको खुलेको छ।

२०८१ चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी शक्तिहरूले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए। त्यो प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। प्रदर्शनकारीले सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याएका थिए।

यो हिंसात्मक प्रदर्शनमा पनि सामेल भएको पुष्टि टीओबी समूहकै सदस्यले गरेका हुन्। हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका टीओबीका सदस्य तेन्जिन लामाले आफूसहित टीओबी समूह चैत १५ गतेको प्रदर्शनमा पनि सहभागी भएको बताएका हुन्।

प्रहरी स्रोतका अनुसार टीओबी समूहका सदस्य ९ वटा मोटरसाइकलमा प्रसाईंको आन्दोलनमा गएका थिए।

‘बच्चाहरूले (टीओबीकै सदस्य) जाऊँ भनेर म पनि गएको थिएँ,’ तेन्जिनले अनुसन्धानका क्रममा भनेका छन्, ‘तर हामी दुर्गा प्रसाईंसँग पैसा लिएर गएको होइन, आफ्नै हिसाबले गएका हौँ। त्यसदिन पनि हामी तोडफोड, आगजनीमा सहभागी थिएनौँ।’

प्रहरीले पनि हालसम्म उनीहरू चैत १५ को घटनामा सामेल भएर तोडफोडमा सहभागी भएको प्रमाण फेला पारेको छैन।

प्रसाईंको आन्दोलनमा सहभागी भएर हिंसात्मक गतिविधिमा संलग्न ६० बढीलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ। उनीहरूमध्ये केही अझै पुर्पक्षका लागि थुनामै छन्। दुर्गा प्रसाईंसहितलाई भने धरौटीमा छाडिएको थियो।

यो मुद्दामा अझै फैसला भइसकेको छैन।

जेनजी आन्दोलनमा पनि टीओबी समूह २३ गते मात्रै सहभागी भएको दाबी गरिएको छ। प्रहरीले पनि उनीहरू २४ गतेको घटनामा संलग्न भएर तोडफोड, आगजनी लुटपाटजस्ता घटनामा संलग्न रहेको भन्ने प्रमाण फेला पारेको छैन।

तेन्जिन पुरानो भिडिओका कारण पक्राउ परेका हुन्। जेनजी आन्दोलन भड्काउन टीओबी समूहको भूमिका रहेको चर्चा भइरहँदा उनले बिजुलीबजारमा पेस्तोल ताक्दै गरेको भिडिओ बाहिरियो। उक्त भिडिओ बाहिरिएपछि तेन्जिन आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

उनले सुरुमै उक्त भिडिओ सुटिङको भएको, पहिलेकै भएको र पेस्तोल पनि नक्कली भएको जानकारी प्रहरीलाई गराएका थिए।

तर काठमाडौँ प्रहरीले उनलाई अभद्र व्यवहारमा म्याद थप गरेर हिरासतमा राखेको थियो। यो बीचमा अनुसन्धान गर्दै जाँदा प्रहरी उनको डेरामा खानतलासी लिन पुग्यो। यस्तै, उनको नागरिकता र जन्म दर्ताका विषयमा पनि प्रश्न उठेपछि अनुसन्धान थप गहिरियो।

९० दिन हिरासतमा राखेर गर्नसक्छ अनुसन्धान
टीओबी समूहका तेन्जिन दावा लामालाई प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने गरी मुद्दा अगाडि बढाएको छ। उनको कोठामा गाँजा भेटिएपछि लागुऔषधको कसुरमा पनि अदालतबाट म्याद थप गरिएको हो। लागुऔषधको कसुरमा प्रहरीले आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गर्न ९० दिनसम्म अनुमति पाउँछ।

यो बीचमा प्रहरीले तेन्जिनसँगै उनको टीओबी समूहमाथि अनुसन्धान गरिरहेको छ। उनको नागकिरता भने नक्कली नै भएको निष्कर्षतर्फ प्रहरी पुगेको छ।

उनले आफ्नो नागरिकतामा उल्लेख गरेका बाबुलाई प्रहरी परिसर काठमाडौँले आइतबार कार्यालयमा झिकाएको थियो। जसलाई उनले चिनेनन्। ती बाबु भनेका व्यक्तिले पनि तेन्जिनसँग चिनजान नभएको जवाफ दिएका छन्।

नागरिकतामा हजुरबुवाको नाम तेन्जिङ लामा र बुबा कृष्णबहादुर लामा उल्लेख छ।

‘विवरणमा बाबु भनिएका व्यक्तिलाई हामीले आइतबार कार्यालयमा बोलाएर भेट गराएका थियौँ। तर तेन्जिनले पनि ती व्यक्तिलाई चिनेनन्। र बाबु भनिएका व्यक्तिले पनि तेन्जिनलाई चिनेनन्,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘यसबाट पनि उनको नागरिकता नक्कली हो भन्ने थप पुष्टि हुन्छ।’

काठमाडौँ महानगरपालिका–६ ठेगाना उल्लेख भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीलाई बुझाएका छन्। जुन विवरणमा जन्मदर्ता विसं २०६३ चैत १० गते गरेको देखिएको छ। उनले नागरिकता २०७९ साल असारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिएका छन्। तर जिल्ला प्रशासन कार्यालयमा भने अभिलेख जलेका छन्। प्रहरीले प्रशासनसँग पनि विवरण माग गरेको थियो।

यी विवरण भिडाउने क्रममा प्रहरीले वडा कार्यालयलाई पनि पत्र पठाएको थियो। वडा कार्यालयले पनि अभिलेखमा उपलब्ध नभएको जवाफ प्रहरीलाई दिएसँगै नागरिकता नक्कली विवरण र नक्कली कागजात पेस गरेर लिएको भन्ने थप पुष्टि भएको प्रहरीको दाबी छ।

यसअघि जिल्ला प्रशासन कार्यालयबाटै चिनियाँ र तिब्बतीलाई नागरिकता दिएको पुष्टि भएको थियो। केही वर्षको बीचमा प्रशासनका कर्मचारीसहित बिचौलियालाई पनि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।

अहिले टीओबी समूह चर्चामा आएसँगै पुनः तिब्बतीले नेपाली नागरिकता लिएको विषय चर्चामा आएको हो।

प्रहरीले तेन्जिनमाथि लागुऔषधसँगै लिखत किर्तेको कसुरमा पनि अनुसन्धान गरिरहेको छ। टीओबीका अन्य सदस्यको संलग्ना र आन्दोलनमा देखिएको भूमिकाबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

भदौ २३ गतेको आन्दोलन शान्तिपूर्ण रुपमा सुरु भए पनि यो समूहले मोटरसाइकलको साइलेन्सर पड्काउँदै भीडलाई उत्तेजित पारेको आरोप छ। उनीहरू टिबेटन ओरिजिनल ब्लड (टीओबी) लेखिएको ज्याकेट र झण्डासहित आन्दोलनमा सहभागी थिए।